नेतृत्व : एक कला

Management is about persuading people to do things they do not want to do, while leadership is about inspiring people to do things they never thought they could.

– steve jobs

नेतृत्व कुनै पनि संस्थाको लक्ष्य प्राप्तिको लागि अपरिहार्य तत्व हो । संस्थाका कर्मचारीहरुलाई निर्दिष्ट लक्ष्य प्राप्ति तर्फ केन्द्रित गरी अगाडि बढाउने जिम्मा नेतृत्वको हो । एक कुशल नेतृत्व कुनै विज्ञान होइन यो त वास्तवमा एक कला हो जो अमूर्त हुन्छ, जो कुनै पनि रुप, वर्ण वा आकारहरुमा देखा पर्न सक्छ । त्यसैले भनिन्छ, नेतृत्व कुनै बिशेष पद सोपान होइन नेतृत्व त कार्य (action) हो ।

Leadership is an action, not position.

कुशल नेतृत्वले अनुयायीहरुको बानी व्यवहार तथा कार्यशैलीमा प्रभाव पार्छ । अनुयायीहरुका फरक फरक सोच, इच्छा आकाँक्षा तथा चाहनाहरुलाई संस्थागत लक्ष्यसँग एकिकृत गर्दै जितको अवधारणा सार्थक बनाउँछ । जहाँ सबैले जितेको महसुस गर्न सकोस् । कर्मचारीका व्यक्तिगत चाहनाहरु यसरी एकाकार हुन कि तिनले संस्थागत लक्ष्य प्राप्तिको लागि इन्धनको भुमिका खेलोस् । नेतृत्व अनुयायीहरुको लागि पोषणको एक रुप हो । जसले संस्थागत लक्ष्य सँगै अनुयायीको सर्वाङ्गिण विकासलाई पनि आत्मसात गरेको हुन्छ । संस्थामा उपलब्ध जनशक्तिलाई प्रभावकारी ढंगले परिचालन तथा विकास गरी संस्थाको निर्दिष्ट लक्ष्य प्राप्ति गर्नु नेतृत्वको मूल धर्म हो ।

नेतृत्वका गुणहरु:

नेतृत्वमा निम्न लिखित गुणहरु अन्तरनिहित रहेका हुुन्छन् ।

  • नेतृत्व अन्तरवैयक्तिक कार्य हो ।
  • नेतृत्वले व्यक्तिमा न्यूनतम गुणहरुको अपेक्षा गर्दछ । जस्तै: व्यक्तित्व, सुझबुझ तथा परिपक्कता।
  • नेतृत्व एक सामुहिक कार्य हो । नेतृत्व समूहमा मात्र सम्भव छ ।
  • नेतृत्व सदैव संस्थागत लक्ष्य उन्मुख रहन्छ ।
  • नेतृत्व अवस्थागत् प्रक्रिया हो । नेतृत्वको कुनै बिशिष्ट प्रक्रिया हुँदैन । नेतृत्वलाई विविध अवस्थागत् तत्वहरुले प्रभाव पार्दछ ।

नेतृत्व र व्यवस्थापन

सामान्य बुझाईमा नेतृत्व तथा व्यवस्थापनलाई उस्तै उस्तै रुपमा बुझ्ने गरेको पाईन्छ । श्रोतको परिचालन तथा संस्थागत लक्ष्य प्राप्तिको कोणबाट हेर्दा नेतृत्व र व्यवस्थापन उस्तै उस्तै लागे तापनि दीर्घकालिन सोच, अभिप्रेरणा तथा आमूल परिवर्तनको आधारमा हेर्दा यी दुई एकै प्रकारका कार्यहरु नभई भिन्न भिन्न कार्य हुन् भन्ने ज्ञान प्राप्त गर्न सकिन्छ । यिनको मूल लक्ष्य संस्थागत लक्ष्य प्राप्ति नै भए पनि कार्यशैली तथा सोचको आधारमा यि एक अर्काभन्दा भिन्न छन् । सिमित घेरामा बाँधिएर नियमित कार्यसम्पादनमा उत्कृष्ट परिणाम हाँसिल गर्नु व्यवस्थापनको ध्येय हुन्छ भने कामलाई नै नविनतम् वा परिवर्तित ढंगबाट सम्पादन गर्न गराउन सकिन्छ भन्ने मान्यता कुशल नेतृत्वले बोकेको हुन्छ । नेतृत्वले जनशक्तिलाई उत्प्रेरित गर्छ भने व्यवस्थापनले जनशक्तिलाई प्रशासन गर्ने सोच राख्दछ । व्यवस्थापकले असाधारण व्यक्तिबाट साधारण कार्य संचालन गराई रहेको हुन्छ भने नेतृत्वले साधारण व्यक्तिबाट असाधारण कार्य गराउने सम्भावनाको खोजी गर्दछ । जबकी नेतृत्व आफैं पनि व्यवस्थापनको एक प्रमुख कार्यको रुप अन्तरनिहित रहेको हुन्छ ।

नेतृत्व र व्यवस्थापन बिचको मुलभूत भिन्नता

“Leadership is inspiring people, management is keeping the trains running on time.”

– Andy Dunn
आधारव्यवस्थापकनेता
स्रोतपद सोपान व्यवस्थापकको स्रोतको रुपमा रहन्छ । नेताको स्रोत पद सोपानमात्र नभई नेतामा अन्र्तनिहित गुण तथा योग्यता रहेको हुन्छ ।
अधिकारव्यवस्थापक आधिकारिक रुपले शक्ति सम्पन्न रहन्छ । नेतामा आधिकारिक शक्ति वा अधिकार नरहन पनि सक्छ ।
अनुयायीमातहतका कर्मचारी स्वतः अनुयायीको रुपमा रहन्छन् ।नेतालाई नेताको गुणको आधारमा अनुयायीले स्वतः पछ्याउछन् ।
कार्यव्यवस्थापनका सबै कार्यहरु संचालन गर्दछ ।जनशक्तिलाई उत्प्रेरित तथा गतिशील बनाई संस्थागत लक्ष्य हासिल गर्दछ ।
आवश्यकताव्यवस्थापनको लागि व्यवस्थापक अपरिहार्य रहन्छ । व्यवस्थापनले आवश्यक नदेख्न पनि सक्छ ।
लचकताव्यवस्थापक कम लचक वा कठोर हुन सक्छ ।नेता लचक हुन्छ ।
परिवर्तनसामान्यत व्यवस्थापकले परिवर्तन रुचाउँदैन ।परिवर्तनलाई सहज रुपले ग्रहण गर्छ ।

व्यवस्थापनमा नेतृत्व:

भनिन्छ, प्रत्येक व्यवस्थापकहरु नेता हुन् ।

अर्थात, व्यवस्थापकमा नेतृत्वको गुण रहनु अपरिहार्य हुन्छ । व्यवस्थापकमा नेतृत्वको गुण रहने हो भने कर्मचारीका व्यक्तिगत तथा सामुहिक लक्ष्यलाई संस्थागत लक्ष्यसँगै अघि बढाउँदै कुनै एक बिन्दुमा जित जितको अवधारण हासिल गर्न सकिन्छ ।

हरेक व्यवस्थापकले आफुलाई एक नेताको रुपमा बिकसित तथा परिस्कृत गर्ने हो भने कर्मचारीबाट उसले बिना कुनै दवाव अधिकतम् कार्य गराउन सक्दछ । त्यस्तो संस्थामा मानवस्रोतसँग सम्बन्धित समस्याहरु कमै मात्र देखा पर्ने हुन्छ । संस्थामा भाईचाराको सम्बन्ध स्थापित हुन्छ, कार्य सन्तुष्टीको मात्रामा अभिबृद्धि हुन्छ, कर्मचारीको मनोवलमा बढोत्तरी हुन पुग्छ, सुशासन स्थापना हुन्छ फलस्वरुप संस्थागत लक्ष्य हाँसिल गर्न सहज र सरल हुन्छ ।

एक आर्दश नेतृत्वले संस्थामा कस्तो असर गर्छ त ?

एक आर्दश नेतृत्वले कुनै पनि संस्थाको संस्थागत संस्कृति

एक आर्दश नेतृत्वले कुनै पनि संस्थाको संस्थागत संस्कृति (Organizational Culture) मा दुरगामी सकारात्मक असर पार्दछ । संस्थाप्रतिको अपनत्वमा बृद्धि गर्दछ । संस्थागत लक्ष्यलाई सफा आँखाले देख्न सक्ने बनाउँछ । लक्ष्यहरु बाझिन्नन् । कुशल नेतृत्वले मात्र संस्थाको भिजन कर्मचारी समक्ष स्पष्ट रुपमा राख्न सक्छ । नेतृत्वले संस्थागत भिजनमात्र कर्मचारीलाई देखाउँदैन सो भिजन हाँसिल गर्न कर्मचारीबाट संस्थाले कस्तो अपेक्षा राखेको छ सो समेत स्पष्ट बुझाउन सक्ने हुन्छ । कर्मचारीलाई सो तर्फ उत्प्रेरित र उत्साहित तुल्याउँछ । जसबाट संस्थाको सम्पूर्ण कार्य वातावरणमा सुधार आई संस्थाले परिलक्षित उपलब्धि छोटो समयमा हासिल गर्न सक्ने हुन्छ ।

व्यवस्थापनमा नेतृत्वको आवश्यकता तथा महत्व

व्यवस्थापनमा नेतृत्वको आवश्यकता किन पर्छ त भन्ने कुरालाई निम्न लिखित बुँदाहरुमा छलफल गर्न सकिन्छ।

  • स्पष्टता (Clarity) : संस्थागत अल्पकालिन तथा दीर्घकालिन लक्ष्यमा स्पष्टताको लागि । आर्दश नेतृत्वले मात्र संस्थागत उदेश्य, मिसन तथा भिजनको स्पष्ट छवि तथा सो हासिल गर्नको लागि चालिनु पर्ने कदमको स्पष्ट मार्गचित्र देखाउने ल्याकत राख्दछ ।
  • संचार (Communication) : प्रभावकारी तथा अवरोध रहित संस्थागत संचारको लागि कुशल नेतृत्वको ठुलो भुमिका रहन्छ । कुशल नेतृत्वले पदसोपानबाट सृजना हुने अवरोधको पक्षपोषण नगर्ने भएकोले, तल्लो तहबाट माथिल्लो तहमा पनि स्पष्ट संचार हुने वातावरणको सृजना गर्दछ ।
  • निर्णय (Decision) : कुशल नेतृत्वले निर्णय प्रकृयामा सम्पुर्ण पक्षको सहभागिताको पक्षपोषण गर्दछ । जसबाट निर्णय प्रकृयामा हुने त्रुटीबाट संस्थालाई जोगाउने कार्य पनि गर्दछ । कर्मचारीको निर्णयमा सहभागिता हुने भएकोले कर्मचारीको गुनासो तथा असन्तुष्टिमा कमी आउँदछ ।
  • सिनर्जी असर (Synergy Effect) : नेतृत्वबाट कर्मचारीलाई मातहतका कर्मचारीभन्दा परिपुरक पक्षको रुपमा व्यवहार गरिने भएकोले कार्यमा सिनर्जी असर प्राप्त गर्न सकिन्छ । नेताको गुण धर्म अन्य कर्मचारीमा पनि प्रसारित भई कर्मचारीको योग्यता तथा क्षमता समेतमा बृद्धि हुने सम्भावना रहन्छ ।
  • मनोवल (Morale) : नेता र अनुयायीको बिचमा भौतिक तथा मनोवैज्ञानिक दुरी कम हुने भएकोले अनुयायीको मनोबलमा बृद्धि हुन जान्छ । अनुयायीको स्थिति नेतालाई थाहा हुने भएकोले अनुयायीलाई नेताले उत्प्रेरित राख्न सहज हुन्छ ।
  • बिकास (Development) : आर्दश नेतृत्वले संस्थागत लक्ष्यलाई मात्र ध्यान नदिई कर्मचारीको व्यक्तिगत आवश्यकता, इच्छा चाहना समेतलाई सँग सँगै अघि बढाउने भएकोले यसले कर्मचारीको बिकास समेतमा योगदान पुर्यौदछ।
  • समन्वय (Coordination) : आर्दश नेतृत्वले संस्थागत लक्ष्यलाई व्यक्तिगत लक्ष्य सँग समन्वय गर्दै लैजाने भएकोले कर्मचारीको व्यक्तिगत लक्ष्यको त्याग नगरी संस्थागत लक्ष्य हाँसिल गर्न सकिन्छ ।
  • उत्पादकत्व र कार्य गुणस्तर (Productivity & Quality of Work) : आर्दश नेतृत्वले बिना कुनै दबाब कार्य वातावरणमा सुधार गर्दै कर्मचारीको उत्पादकत्वमा सुधार गर्नसक्ने क्षमता राखेको हुन्छ । जसबाट त्रुटीहरु कम गरेर कार्य गुणस्तर समेतमा अभिवृद्धि हुन पुग्दछ ।

अन्त्यमा,

A boss says go, but a leader says lets go.

– E.M. Kelly

माथिको उद्गारबाट थाहा लाग्छ, नेता र नेतृत्व के हो । व्यवस्थापकले “जाऊ र काम गर भन्छ” भने एक आर्दश नेताले कर्मचारीलाई उत्प्रेरित गर्दै “जाऔँ, हिडौँ र सँगै काम गरौं” भन्छ ।

एक कुशल नेताले कर्मचारीलाई तलब तथा सेवा सुविधाको लागि काम गर्नेको जमात नठानेर, कर्मचारीको नैतिक आचरण, क्षमता, व्यक्तित्व पहिचान तथा आत्म सम्मान समेतको ख्याल गर्दछ । कर्मचारी भित्र निहित क्षमता खोज्ने तथा उसका कमि कमजोरीको पहिचान गर्न सघाउँदै त्यसबाट उसलाई उन्मुक्ति दिने नेता नै वास्तवमा एक आर्दश नेता हो ।

Author

Roshan Pokhrel Contribution: 1 article Total articles written

Manger, Nepal Bank Limited

Leave a Reply