नेपाल बैंकमा रिसर्च किन ?

Kiran Dahal
Updated . 5 min read . 0 comments

नेपालमा बैकिङ रिसर्चको अभ्यास खासै नभएतापनि अन्तराष्ट्रियस्तरमा बैकिङ रिसर्च एउटा स्थापित अभ्यास हो । बैंक अफ अमेरिका, जे पि मोर्गन बैंक, एच्.एस्.वि.सी बैंक, र एसबिआई बैंक सबैले बैकिङ रिसर्चको माध्यमबाट बैंकको व्यवसाय विस्तार तथा अपरेशनल सुधारहरु गरेको देखिन्छ । नेपाल बैंकको हकमा बैंकसँग भएका आन्तरिक तथ्याङ्कहरुको विश्लेषण तथा बाह्य वातावरणको अध्ययन गरेर बैंकको लागि मूल्य सिर्जना (value creation) गर्ने काम रिसर्चले गर्न सक्दछ ।

विश्वका विकसित देशहरु तथा ठूला ठूला कम्पनीहरुले पनि अनुसन्धान तथा विकास (R & D) लाई उच्च प्राथमिकतामा राखेको देखिन्छ । अमेरिका, चीन, जापान, जर्मनी, बेलायत, दक्षिण कोरिया लगायतका देशहरुले अनुसन्धान तथा विकासमा आफ्नो कुल ग्राहस्थ उत्पादनको २ देखि ५ प्रतिशत सम्मको बजेट खर्च गर्ने गरेको देखिन्छ भने अमेजन, गुगल, हुवाई, माइक्रोसफ्ट, एप्पल, फेसबुक जस्ता कम्पनीहरुले आफ्नो कुल आम्दानीको ७ देखि २१ प्रतिशत सम्म अनुसन्धान तथा विकासमा खर्च गर्नेगरेको देखिन्छ ।

रिसर्च एक विशिष्टीकृत कार्य

बैंकको लागि रिसर्च लक्जरी वा बौद्धिक विलास नभएर आवश्यकता हो । आजको प्रतिस्पर्धी बजारमा एक्सन रिसर्च (action research) अपरिहार्य भइसकेको छ र त्यसको माध्यमबाट संस्थाहरुले व्यवसायिक लाभ उठाइरहेका हुन्छन् । विभाग तथा शाखाहरु दैनिक कामकाजमा व्यस्त भइरहनुपर्ने भएकाले ती इकाईहरुले चाहेर पनि आफ्नो लागि आवश्यक अनुसन्धान तथा नवप्रवर्तनको कार्य आफै गर्न सक्दैनन् । त्यसैले अनुसन्धान, विकास तथा अन्वेषण (इनोभेशन) एक विशिष्टीकृत कार्य हो र कुनै पनि संस्थाले छुट्टै संरचना तयार गरेर अनुसन्धान तथा विकासको कार्यलाई अघि बढाउनुपर्ने हुन्छ ।

बैकिङ रिसर्चको उद्देश्य

नेपाल बैंकको हकमा रिसर्चले बैंकसँग उपलब्ध तथ्याङ्कहरुको उपयोग गरेर कर्जा, डिपोजिट, डिजिटल तथा अन्य बैकिङ प्रोडक्ट, सेवा तथा प्रक्रियाहरुमा सुधार तथा परिवर्तन ल्याउन सक्दछ । यसले तथ्यमा आधारित निर्णय तथा नीति निर्माणको संस्कृति लाई अभिवृद्धि गर्दै बैंकका हरेक तहमा हुने निर्णयहरु तथा बैंकको समग्र नीतिहरुलाई थप यथार्थपरक, विश्वसनीय तथा प्रभावकारी बनाउने अपेक्षा गर्न सकिन्छ । त्यस्तै, रिसर्चले विगत तथा वर्तमानमा बैंकले अवलम्बन गरेका नीति, रणनीति तथा कार्यक्रमहरुको वस्तुपरक समीक्षा गर्दै त्यसमा भएका राम्रा पक्ष तथा कमी कमजोरीहरुलाई केलाउँदै भए गरेका कार्यक्रम तथा सेवाहरुलाई थप प्रभावकारी तथा सुदृढ बनाउन सहयोगी भूमिका खेल्दछ ।

रिसर्चको लागि आवश्यक पूर्वाधारहरु

रिसर्च भनेको कुनै पनि समस्याको गहिराइमा गएर त्यसमा अन्तरनिहित सत्य, तथ्य तथा कारणहरुको पहिचान गर्ने कार्य हो । त्यसैले, रिसर्च आफैँमा एक जटिल कार्य हो । रिसर्च एउटा व्यक्तिले मात्र पनि गर्न सक्छ । तर बलियो रिसर्च टीम बनाएर अध्ययन अनुसन्धान गर्न सकियो भने त्यसले छिटो परिणाम दिन सक्छ । नेपाल बैंकको हकमा रिसर्चको लागि आवश्यक सबैभन्दा महत्वपूर्ण पूर्वाधार भनेको बैंक व्यवस्थापन तथा सबै कर्मचारीहरु माझ रिसर्चको संस्कार स्थापित गर्नु हो । संस्कार भनेको आजको भोली निर्माण हुने कुरा पनि होइन । गफ गरेर मात्र पनि रिसर्चको संस्कार बन्दैन । बैंकमा रिसर्चको संस्कार तब विकास हुन्छ, जब रिसर्चमा संलग्न कर्मचारीहरुले गरेको रिसर्च कार्यबाट आएको सल्लाह, सुझावलाई बैंक व्यवस्थापन ले कार्यान्वयन गरेर साच्चै परिणाम दिन थाल्दछ । यसका लागि सुरुवाती चरणमा बैंकमा रिसर्चको काम गर्ने कर्मचारीहरुले अनुसन्धान कार्यमा ज्यादा मेहेनत, लगन र पूर्ण इमानदारिता प्रदर्शन गर्नुपर्ने हुन्छ । त्यस्तै, सुरुवाती चरणमा बैंक व्यवस्थापनले रिसर्चको परिणाममा भन्दा पनि रिसर्चको बलियो इन्स्टिच्युसन बनाउनमा रिसर्च टीमले साँच्चै इमानदार प्रयास गरिरहेको छ कि छैन भनेर हेर्नु पर्ने हुन्छ । हामीले बारीमा आँपको बिरुवा रोपेका छौँ र त्यसले राम्रो मलजल तथा हेरचाह पाइरहेको छ भने हुर्किसकेपछि त्यसले अवश्यपनि फल दिन्छ नै । तर आँपको रुख हुर्किन लाग्ने जुन प्राकृतिक समय छ, त्यतिबेला सम्म पर्खिन सक्ने धैर्यता भने हामीमा हुनैपर्छ । रिसर्चमा पनि यो नियम लागु हुन्छ । आज हामीले देखिरहेका ठूला ठूला वैज्ञानिकहरु, आविष्कारकहरु तथा अनुसन्धान केन्द्रहरुले पनि यी सबै चरणहरु पार गरेर यहाँ सम्मको यात्रा तय गरेका हुन् । उदाहरणको लागि सन् १९६० को दशकमा स्थापना भएको इसरो (ISRO-Indian Space Research Organization) ले शून्य बाट सुरु गरेर सन् २०२३ मा एउटा फिल्म बन्न लाग्ने बजेट खर्चेर चन्द्रयान–३ चन्द्रमाको सतहमा पठाउन सफल भयो । यो सफलता पछाडि उक्त संस्थालाई सही दिशामा डो¥याउन विक्रम साराभाई, प्रो. सतिश धवन लगायतले खेलेको नेतृत्वदायी भूमिका तथा ६० वर्षको अन्तरालमा डा. ए.पि.जे अब्दुल कलाम लगायतका थुप्रै वैज्ञानिकहरुले निरन्तर गरेको मेहेनत, परिश्रम र समर्पणको ठूलो हात छ ।

नेपाल बैंकमा रिसर्चको बलियो इन्स्टिच्युसन बनाउन हामीले दक्ष जनशक्ति, डाटा बैंक, भौतिक पूर्वाधार र डाटा विश्लेषणको लागि प्रोगामिङ ल्याङ्ग्वेजमा दक्षता लगायतका क्षेत्रहरुमा काम गर्नुपर्ने हुन्छ । त्यस्तै, बैंक व्यवस्थापनले तालिम, रिसर्च आउटसोर्सिङ, विश्वविद्यालय तथा अनुसन्धान कार्यमा संलग्न अन्य संस्थाहरुसँग अनुसन्धान तथा ज्ञानको आदानप्रदानको लागि साझेदारी लगायत कार्यहरुमा सुरुवाती चरणमा आफ्नो लगानी केन्द्रित गर्नुपर्ने हुन्छ ।

बैंकमा रिसर्चका क्षेत्रहरु

बैंकले शाखा तथा विभागहरुका अपरेशनल गतिविधिहरुमा सुधार÷परिवर्तन ल्याउने, बैकिङ प्रोडक्ट, सेवा र प्रक्रियाहरुमा समयसापेक्ष सुधार÷परिवर्तन गर्दै सेवाग्राहीका लागि थप सहज र सरल बनाउने, कर्जाका नयाँ नयाँ प्रोडक्टहरु निर्माण गर्ने, कर्मचारीको उत्पादकत्व अभिवृद्धि गर्ने लगायतका क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सक्दछ । त्यस्तै, बैंकको प्रशासनिक तथा अन्य लागत घटाउने, घाटामा गएका शाखाहरुलाई कसरी बे्रक इभन वा नाफामा ल्याउने, खराब कर्जा कसरी कम गर्ने, डिजिटल बिजनेस तथा डिजिटल कारोबार कसरी बढाउने र सेवाग्राहीहरुलाई कसरी सन्तुष्ट राख्ने लगायतका विषयहरुमा गहिरो खोज तथा अनुसन्धान गर्न सकिन्छ । अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा सम्बन्धित पक्षहरुसँग बसेर, छलफल गरेर, समस्या समाधानको वस्तुगत उपायहरु पहिचान गरेर, त्यसमा सरोकारवाला पक्षहरु सबैको सामुहिक स्वामित्व सिर्जना गरेर, बैंकले तत्काल तथा दीर्घकालमा गर्न सक्ने सुधारहरु/हस्तक्षेपहरु (interventions) निर्धारण गर्न सकिन्छ । बैंकको अनुसन्धान इकाईले बैंकिङ सिस्टम, कर्मचारी, विभाग/शाखा, अन्तर विभाग/शाखा समन्वय र बैंकको नीति तथा नियमहरु गरी पाँच तहमा अल्पकाल तथा दीर्घकालमा के–कस्ता हस्तक्षेपहरु गर्न सकिन्छ भनेर कार्यात्मक रणनीतिहरु बनाएर कार्यान्वयनको लागि बैंक व्यवस्थापनलाई सिफारिस गर्न सक्दछ । तर बैंकको रिसर्च इकाईले के विषयमा अनुसन्धान गर्ने भन्ने सम्बन्धमा बैंक व्यवस्थापनले बैंकको प्राथमिकता र रिसर्च इकाईको अनुसन्धान क्षमताका आधारमा रिसर्च प्रोजेक्टहरु छनौट गरेर दिनुपर्ने हुन्छ ।

बैंकको रिसर्च संस्कृति

अनुसन्धान तथा विकास भनेको सामुहिक कार्य हो । यसमा सबै पक्षको संलग्नता आवश्यक हुन्छ । रिसर्चको जिम्मा एउटा विभाग वा इकाइले लिएतापनि यसको स्वामित्व सबैले लिनुपर्छ । रिसर्चको लागि खुला संवाद, छलफल र वस्तुपरक आलोचना गर्न तथा सुन्न सक्ने वातावरणको निर्माण गर्नुपर्छ । अनुसन्धानलाई परिणाममुखी बनाउनको लागि समस्या वा विषयलाई अंश अंशमा भन्दा पनि समग्रतामा बुझ्न/हेर्न सक्ने दृष्टिकोणको निर्माण गर्नुपर्छ । त्यस्तै, अनुसन्धानलाई परिणाममुखी बनाउनको लागि समयको पावन्दी तोकिनुपर्छ तर रिसर्च भनेको समस्याको गहिराइमा पुगेर तथ्यहरुको खोजी गर्ने विषय भएकोले यसमा लचकपनाको प्रबन्ध पनि उत्तिकै आवश्यक पर्दछ ।

बैंकमा गरिने रिसर्चको सामान्य खाका

बैंकमा गरिने रिसर्चको सामान्य खाका निम्नअनुसार रहन सक्दछः

Banking Research Framework

निचोडमा,

रिसर्चको मुख्य उद्देश्य भनेको सेवा प्रवाहमा साना तथा ठूला सुधारहरु ल्याएर बैंकको मुनाफा बढाउने, कर्मचारीको उत्पादकत्व र मनोबल बढाउने तथा बैंकले प्रवाह गरेको सेवाप्रति सेवाग्राहीलाई सन्तुष्ट राख्दै बैंकप्रति सकारात्मक धारणाको निर्माण गर्ने हो । अहिले बैंकको एउटा सानो इकाई र सीमित कर्मचारीहरुले बैकिङ रिसर्चको कार्य गरेतापनि दीर्घकालमा आफ्नो काममा त्यही काम गर्ने कर्मचारी नै सबैभन्दा बढी दक्ष हुन्छ भन्ने मान्यतासहित हरेक कर्मचारीलाई आफ्नो कामसँग सम्बन्धित विषयमा गहिरो खोज, अध्ययन तथा अनुसन्धान गर्न सक्षम बनाएर रिसर्चको माध्यमबाट नेपाल बैंकलाई बैकिङ क्षेत्रको मानक (बेन्चमार्क) बैंकको रुपमा स्थापित गर्ने लक्ष्य हो ।

Tagged

The Author

Kiran Dahal Contribution: 1 article Total articles written

Assistant Manager, Nepal Bank Limited

Leave a Reply