जव मान्छे स्वयमलाई अभिव्यक्त गर्न सक्दैनन् तत् तत् क्षण पल पल स्वयमलाई मार्दछन् । मानिस सामाजिक प्राणी हो, यस जगतमा स्वयंमलाई जिवित राख्न सामाजिक स्विकार्यतासँग संघर्ष गरिरहेको हुन्छ । यो मनोविज्ञानले आफ्ना विचार र धारणा लुकाएर अन्यको धारणा पचाई रहेको हुन्छ । अरुको चाहना स्विकार गरिरहेको हुन्छ । कतै स्वयंम निर्णयकर्ताले पनि चाहना नराखेको र समुह स्वार्थ पनि नरहेको सवैजनाले नचाहेको निर्णय स्विकार गरिरहेका त छैनौँ ? यो भन्दा खराव स्विकारोक्ति अरु हुन सक्दैन । त्यही विरोधाभासको चर्चा एबिलेन बिरोधाभाष (Abilene Paradox) विषयले उठान गरेको छ ।
तसर्थ यो विरोधाभाषले “मौन रहनु उत्तम” सँधै हुँदैन भन्ने ब्याख्या गर्दछ । त्यसकारण समयमा बोल्न पर्छ र पदमा बसेकाले बोल्न मिल्ने र स्वतन्त्र धारण राख्न सक्ने वातावरण बनाउनु पर्छ । बोल्नेलाई पेल्ने कामले कसैलाई राम्रो गर्दैन । अभिब्यक्ति स्वतन्त्रता मौलिक हक हो र हुनु पर्छ । सामुहिक भावना बोक्न नसक्नु नेत्रृत्व क्षमताको असफलता हो । हामी किन बोल्न सक्दैनौ त ? एउटा कारण सामाजिक बहिष्करणमा परिन्छ कि भन्ने डर हो । अर्को माहोल खराब गर्ने पात्र बन्न नचाहने चाहना र अध्ययननै नगरीकन बोल्ने प्रवृति, हो मा हो मिलाउने चाकरी स्वभाब ।
जब हामीसँग बास्तविक परिस्थितिलाई विष्लेषण गर्ने क्षमता हुँदैन, विषयको नाफा नोक्सान आँकलन गर्न र जिम्मा लिन गाह्रो हुन्छ, अनि आदेशपालक हुन सहज हुन्छ, र आँखा चिम्म गरेर आदेशको पालना गर्दछौँ । अर्को एकदम ठुलो डर जसले हामिलाई हुबहु नक्कल गर्न बाध्य पार्छ, त्यो हो परम्परा भङ्ग हुने खतरा । प्राय पारिवारिक परिस्थितिमा हुने भनेकै यहि हो र संगठनात्मक संरचना व्यवहार अलचिलो र उच्च छ, अधिनस्तकोलागि खुल्ला छैन, ब्यबस्थापकिय समुह बिच अन्तरकृया छैन, उदाशिन व्यबहार छ भने, प्राय यो विरोधाभाष अपरिहार्य हो ।
प्रभावकारी चुस्त कार्य संस्कृति निर्माण चाहना राख्ने व्यवस्थापकको लागि यो निकै नै महत्वपूर्ण र गम्भिर विषय हो, किनकि चुस्त र दुरुस्त संस्कारको लागि एक आपसमा सहयोग अपरिहार्य छ । मौन रहने संस्कृतिले प्रभाबकारी संस्कृतिलाई ठडिन दिँदैन, जहाँ मानिसहरु बोल्न र आफ्नो क्षमताको पूर्ण प्रयोग गर्न सक्दैनन् । सम्मतिको बिरोधाभाषले नियत असल भएपनि उपलब्धिमा पुर्याउन सक्दैन भन्ने सटिक विश्लेषण दिन्छ । व्यक्तिगत रुपमा समुहका सदस्यहरुले के गर्दा समस्या समाधान हुन्छ भन्ने बुझेका हुन्छन्, उनीहरुलाई अपेक्षित परिणाम कसरी आउँछ भन्ने हरेक चरण थाहा हुन्छ । तर व्यक्त गर्ने वातावरण नहुँदा वा व्यक्त गर्न नसक्दा, झुटो तर्क र परिणाम सामुहिक रुपले स्विकार्दछन्, जुन संस्थाको नियत वा निर्णयकर्ताको नियत थिएन ।
यो शब्द व्यवस्थापन विशेषज्ञ जेरी बि हार्वेद्वारा उनको १९७४ को लेख “द एबिलेन प्याराडक्सः सम्झौताको व्यवस्थापन” मा पेश गरिएको थियो । घटनाको नाम एक किस्साबाट आएको हो जुन हार्वेले बिरोधाभाषलाई स्पष्ट गर्न लेखमा प्रयोग गरेका छन् जसको नेपालीकरणः
शुक्रवार १:३० बजे दिउशो अफिस सकेपछि स-परिवार विरगञ्ज स्थित ससुराली तिर लागियो । बाहिर तातो हावा र चर्को घाम, तै पनि घर भित्र पंखाको हावाले पसिना ओभाई रहेको थियो, पारिवारिक वातावरणमा अपरान्हको समय ब्यतित भैरहेको थियो । लुडो खेल चलिरहेको थियो ।
सदाबहार गीतहरुको मधुर आवाज आइरहेको थियो । आनन्दपुर्वक तराईका विभिन्न परिकारहरुमा मज्जा आईरहेको थियो, जबसम्म ससुरा बा ले कुरा झिक्नु भाको थिएन कि “ज्वाई साहिव हम विचार करतानी कि सामके खाना चित्लाङ्ग मे खायल जाई” ।
श्रीमतीबाट तुरुन्तै प्रतिकृया आयो “बुबाले राम्रो कुरो झिक्नु भो, हो हो जाऊ सबैजना, आज उतै खाना खान अनि रमाईलो गर्ने”। मलाई भने यो कुरा रतिभर मन परिरहेको थिएन किनकि यस्तो बाफिलो वातावरण, त्यै माथि बाटोको हालत । सबै बाटो कतै बनाउँदै गरेको छ, कतै भत्केको छ, धुलै धुलो छ, उवडखावड खाल्टा खुल्टी, त्यसमाथि लामो यात्रा । सामुहिकताको अगाडि मेरो मन भाँचेरै भने, “ठिकै छ , हुन्छ आज बाहिरै खाऊ न त । “बेलुकाको केहि विशेष भए यता म छुट्लानि”, सासुआमा ले भन्नुभयो । “म पनि माथी तिर जान इच्छुक छु, चितलाङ नगाको पनि वर्षौ भो” ।
यात्रा सहज थिएन, गाडी चलाउन असाध्यै कठिन । एक त जताततै खाल्टा र खुल्टी, अनि गर्मी धुँवाधुलो उस्तै, साथै लामो यात्रा । विरगंज देखि पथलैया सडक खण्ड त जताततै सडक निमार्ण कार्य चलिरहेकोले सबैजनालाई यात्रा कष्टकर रहन गयो । माथि पनि बाटो अप्ठेरो । बल्ल तल्ल चितलाङ आई पुगियो, थकित। यात्रा जस्तै खराब रहेछ, होटलको खानेकुरा । जसोतसो खाना खाईयो । कसैले केहि प्रतिकृया दिएनन् । चुपचाप बिरगंज फिर्ति सवारी भयो हाम्रो उतिकै कष्टकर यात्राबाट ।
घर आउँदा ढिलो भैसकेको थियो, सबैजना थकित, गलित । तै पनि एकजनाले भन्न भ्याई हाले “गज्जवको रमाईलो यात्रा भएन त ?” नमिठो व्यंग्य जस्तो लाग्यो उनको भनाई । वास्तवमा सासुआमा ले भन्नु भएको थियो यो कुरा, जबकि सबै भन्दा यात्रामा विसन्चो वहाँलाई नै भएको थियो, गाडी लागेर । उहाँलाई थाहा थियो पहिले नै बान्ता हुन्छ भन्ने, वहाँ आरामले घरमा वस्न सक्नुहुन्थो, तर अरुको उत्साहले उहाँलाई रोक्यो ।
मलाई अति नै भो भन्ने लागेर भने “मलाई त हामिले जे गर्यौ, त्यो पटकै चित्त बुझेन, म त ससुरा बुबाले प्रस्ताव गर्नुभयो, किन चित्त दुखाउँ भनेर मात्र लिएर गएको थिएँ ।” श्रीमतीले पनि मलिन मुहारले भनिन् “म पनि तपाईहरुको खुशीको लागि मात्र गएको, नत्र यस्तो गर्मीमा बाहिर जान त मलाई पनि मन थिएन” ।
ससुरा बा जस्ले यो विचार निकाल्नु भाको थियो उहाँले भन्नु भो “ज्वाई राजा लाई वोर भो होला हप्ताभरि घरअफिस मात्रै गर्दा, यसो शुक्रवार घुमघाम गर्न रमाइलो होला भनेर पो त ।”
हामी सबै एउटा अन्योलमा पर्यौं । हामीले सँगै यात्रा गर्ने निर्णय गरेका थियौं, जुन वास्तवमा हामी कसैको भित्री चाहना थिएन । सबैले एक अर्काको चित्त नदुखाउन र विचार नबझाउन सहमतिमा आएका थियौं। परिवारको सबैभन्दा मान्य व्यक्ति (ससुराबुबा) बाट जुन प्रस्ताव भएको थियो त्यसको फाइदा अप्ठेराको कुराहरुमा विचार गर्न छलफल गर्नतिर लागेनौं ।
परिवारकै बुज्रुग व्यक्तिका रुपमा उहाँको वचन पनि राखियो । अर्कौ एकजनाले स्विकार गरेपछि त्यही प्रस्ताव अरु बलियो हुनगयो र तेस्रोले झन्र फरक विचार ल्याउने कुरा आएन । यही हिसाबले हाम्रो निर्णय भयो । खासमा कसैले पनि चाहना नगरेको निर्णय सर्वसहमतिमा भयो ।
हामी सबै दिउसो घरै बसेर जुन आराम गर्न सक्दथियौ, समय रहदै त्यस सहज विकल्पलाई छोडेर दुख पायौं ।
जीवनमा यस्ता कैयौँ परिस्थितिमा हामी यस्तै व्यवहार गर्छौ र गलत निर्णयको सिकार बन्छौ। समूहका अरू सदस्यहरुको इच्छाविरुद्ध होला कि भन्ने भावनाले फरक विचार प्रस्तुत गर्न हिचकिचाएर नचाहँदा नचाहँदै अनुपयुक्त सामूहिक निर्णयको सिकार बन्छौ।
सामान्यतः व्यक्तिले सामाजिक भावनाको कारण अनि साथीको अपेक्षाअनुरुपको व्यवहार देखाउन, निर्णय प्रक्रिया सहज र सजिलो पारिदिन, समूहका सदस्यहरुको मन राख्न एवं मैत्री र विश्वासको सम्बन्ध नबिगार्न सहमतिको भावना प्रदर्शन गर्न आवश्यक ठान्छ । त्यस्तै संस्थागत परिवेशमा समूहको सदस्यले कसैलाई पनि ऊ बढ्ता बाठो हुन खोज्ने स्वभावको नलागोस् वा स्थापित मान्यतामा चुनौती नहोस् भनेर सजग हुँदा आफ्नो भावना लुकाउने संभावना हुन्छ । यस्ता गलत सोच र प्रवृत्ति नै वास्तवमा गलत निर्णयको कारण बन्ने गर्छन् । यसरी आफू जानीजानी मूर्ख भएर पनि समूहमा मिल्न समर्थन गर्ने मानवीय व्यवहार र प्रवृत्तिलाई व्यवस्थापनको भाषामा अविलेन विरोधाभाष भन्ने गरिएको छ ।
यस व्यवहारलाई ‘समूह सोच’ पनि भनिन्छ । यो उद्योग, संगठन र सामाजिक संरचनाहरुको परिवेशमा अध्ययन र विश्लेषण गरिन्छ । यसले समूहहरुको मनोविज्ञान र सामाजिक व्यवहार एवं समूहभित्रका सदस्यहरुबीचको सम्बन्धको गतिशीलतालाई जनाउँछ । पेशागत संगठनमा समूह सोचले प्रभावकारी भूमिका खेल्छ । त्यसमा नकारात्मक नतिजाको डरले व्यक्तिहरु आफूभन्दा माथिल्लो पदका वा वरिष्ठ सदस्यलाई प्रश्न गर्न हिचकिचाउँछन् र छलफल एवं निर्णय गर्ने समूह समान विचारलाई सुदृढ पार्ने एउटा ‘इको चेम्बर’मा रुपान्तरण हुनपुग्छ ।
के यो रोगको निदान छैन त ! अवश्य पनि छ, यदि तपाईँ उच्चतहमा हुनुहुन्छ, नेतृत्वदायी भुमिकामा हुनुहुन्छ भने यो रोगको उपचार गर्ने दायित्व पनि तपाईँ स्वयंमको हो । यसको लागि पहिलो काम स्वतन्त्र रुपमा आफुलाई लागेका कुरा बोल्न सक्ने वातावरण बनाउनु हो । आफ्ना भावनाहरु अव्यक्त रहने वातावरण र परिस्थिति आउन नदिनु हो । दोहोरो सम्वादहिनता हटाउन सक्नु यस कदमको पहिलो सफलता हो । हरेक सदस्यले आफुलाई सुरक्षित महसुस नभएसम्म उपयुक्त धारणामाथि छलफल नै हुन सक्दैन, समस्याको चुरोसम्म सुन्ने धैर्यता राख्नु नेतृत्वको परीक्षण हो, हरेकलाई आफ्ना धारणा राख्न दिनुपर्छ, सुन्न सक्नुपर्छ, सहन सक्नुपर्छ, आफ्ना खराव निर्णयहरु र आफ्नै बिरुद्धका तर्कलाई समेत सम्मान गर्न जान्नुपर्छ यसले नै सहकार्य बढाउँछ र विरोधाभाष घटाउँछ ।
यसैले आवश्यक सूचना तथा धारणा विना निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन असम्भव छ । कुनै विषयमा फरक दृष्टिकोण प्राप्त गर्नु र छलफलमा योगदान दिने विचारको प्रभावकारिताको जाँच गर्ने कार्य गर्नु नै अत्यन्त महत्वपूर्ण हुन्छ । शास्त्रमा पनि भनिएको छ — वादे वादे जायते तत्वबोधः । यसर्थ एउटा नेतृत्वकर्ताले आफैतिर फर्केर सोेध्नुपर्छ — आफ्ना विचारहरु ठीक छन् कि छैनन् ? अनि आफ्ना समूहका सदस्यहरु यस्तै एविलेन विरोधाभाषको सिकार पो भैरहेका छन् कि ? एविलेन विरोधाभाषले संस्थागत सम्मति व्यवस्थापनको असफलतालाई दर्शाउँछ । वास्तवमा आधुनिक संगठनहरुमा नेतृत्वको सबैभन्दा जटिल समस्यामध्ये एउटा द्वन्द्व व्यवस्थापन नभएर सम्मति व्यवस्थापन हो ।
संचारमा हुने अवरोधः उच्च व्यबस्थापन र व्यबस्थापकहरु बिच घटाउन नसक्ने हो र समय समयमा सामुहिक छलफल स्वतन्त्र रुपमा नहुने हो भने सम्वादहिनता बढ्छ र विरोधाभाष संगसंगै बढ्छ । त्यसैले अनौपचारिक कुराकानीमा उठेका सवाललाई समेत र सार्वजनिक रुपमा उठेका बिषयलाई पनि औपचारिक रुपमा राय माग्दा अझै राम्रो हुन्छ । बिचार माझिनु पर्छ अनि सहकार्य, सहचार्य र collaboration हुन्छ , no पनि सुन्नु पर्छ, yes ले नयाँ सृजनात्मक उपलब्धि हासिल गर्न सहयोग गर्दैन । यो संमतिको विरोधाभाषले हामिलाई बुद्धिमत्तापूर्वक आफ्नो व्यक्तिगत र व्यबसायिक जीवन राम्रोसंग समस्या समाधान गर्न सिकाउँछ ।
सन्दर्भ सामाग्रीः
https://en.wikipedia.org/wiki/Abilene_paradox
http://homepages.se.edu/cvonbergen/files/2013/01/The-Abilene-Paradox_The-Management-of-Agreement.htm_.pdf
https://www.psychologytoday.com/intl/blog/machiavellians-gulling-the-rubes/202007/the-abilene-paradox-why-people-go-along-get-along